पाक र अफगानबीच युद्धविराम गर्ने सहमति

काठमाडौं । कतारले पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबीच दोहामा भएको उच्चस्तरीय वार्तामा तत्काल प्रभावले युद्धविराम लागू गर्ने सहमति भएको बताएको छ। कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ – कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुवै देशले सीमा क्षेत्रमा स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न प्रणाली स्थापना गर्न पनि सहमति जनाएका छन्।

यसपछि, अर्को चरणमा युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनको बारेमा छलफल गर्न दुवै पक्षका समितिहरू दोहा र इस्लामाबादमा भेट्नेछन्। कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्ने र क्षेत्रीय स्थिरतातर्फ “निर्णायक पहिलो कदम” साबित हुने आशा व्यक्त गरेको छ।

जियो टिभीका अनुसार पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गर्दै युद्धविरामले दुई देशबीच जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरेका छन्। ख्वाजा आसिफले थप वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डलहरू अक्टोबर २५ मा इस्तानबुलमा फेरि भेट्ने बताए।

यसअघि पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित धेरै नागरिकको मृत्यु भएको थियो। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको र आक्रमणमा सर्वसाधारण मारिएको दाबी गरेको छ। पाकिस्तानले भनेको थियो – सुरक्षा बलले अफगानिस्तानसँग सीमा जोडिएको उत्तर र दक्षिण वजिरिस्तान जिल्लाको सीमावर्ती क्षेत्रमा ‘आतंकवादी शिविरहरू’ लाई निशाना बनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर