शुक्रबार मात्रै अपराजित रहँदै ओमानमा सम्पन्न आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको नेपाली टोली अब सिधै युएई जाने भएको छ । नेपाल, युएई र अमेरिकाबीच युएईको दुबईमा एकदिवसीय त्रिकोणात्मक सिरिजका खेल हुनेछ। सिरिज आगामी २६ अक्टोबरदेखि सुरु हुनेछ । अक्टोबर २६ मा नेपाल र अमेरिका दुबई अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
टी–२० विश्वकपमा तहलका मच्चाएको नेपालको अवस्था लिग२ मा भने निकै नाजुक देखिन्छ । नेपालले १६ खेलमा ५ मा जित र ९ खेलमा हार व्यहोर्दै १२ अंकसहित सातौं स्थानमा छ । ८ टोली सहभागी यो प्रतियोगितामा शीर्ष तीन टोली मात्रै सन् २०२७ को आईसीसी विश्वकपमा छनोट हुनेछन् । लिग–२ मा प्रत्येक टिमले ३६ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्छन् । त्यसो हुँदा नेपाललाई लिग २ मा स्थान बलियो पार्न निरन्तर जितको खाँचो छ ।
