मसहित नेताहरुलाई के कारण देखाएर पक्राउ गर्ने ? : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंश गर्ने परिवर्तन देशलाई नचाहिएको बताएका छन् ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा आज शनिबार आयोजित कार्यक्रममा उनले भौतिक संरचना, तोडफोड गरेर देशको विकास कहिल्यै सम्भव नहुने बताए । नेपाली जनताले ठुलो संघर्ष र बलिदान दिएर देशमा लोकतन्त्र ल्याएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, “अर्काको घरमा आगो लगाउने, सरकारी भौतिक संरचना ध्वस्त गर्ने, सामाजिक सञ्जालमा अस्वस्थता र गलत भाष्य सिर्जना गर्नुले मुलुकमा शान्ति र विकास हुँदैन ।”
अहिलेको सरकारले मुलुकमा चुनाव गराउनेगरी अन्तरिम सरकार गठन भए पनि निर्वाचनमा ध्यान दिन नसकेको भन्दै उनले देशको विकासमा यो सरकारले काम गर्न नसक्ने बताए । मुलुकमा शान्ति कायम गर्न र दिगो विकास गर्नका लागि एमालेजस्तो पार्टी रहेको बताउँदै उनले केही समयपछि राजनीतिक वातावरण सङ्लिने विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक प्रणाली सबैले मान्न अनिवार्य रहेको भन्दै उनले संविधानले त्यही व्यवस्थाको अङ्गीकार गरेको बताए । कानुनी प्रक्रिया पूरा गरी शान्तिपूर्ण रूपमा आयोजना हुने निर्वाचनबाट एमाले नभाग्ने तर अस्वस्थ र गैरकानुनी रूपमा आयोजना हुने निर्वाचन सफल नहुने उनको भनाइ छ । मुलुकमा कानुनी राज र प्रणालीको विकास गर्न अपरिहार्य रहेको भन्दै उनले मुलुकलाई अस्थिर राख्ने छुट कसैलाई नभएको बताए ।
कानुनी र राजनीतिक रिक्तताले मुलुक चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले भने, “व्यक्तिगत रिसइबी गरेर मुलुकमा शान्ति आउँदैन, मसहित नेताहरुलाई पक्राउ गर्ने भनिएको छ, के कारण देखाएर पक्राउ गर्ने ? आधार त चाहिएला नि पक्राउ गर्ने ? सम्पत्ति छानविन गर्ने भनिएको छ, गर्नुस् छानविन । निष्पक्ष छानविन गर्नुस् ।”
जेनजी युवाको टाउकोमा आरोप थुपारेर परिवर्तन तुहाउने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले भने, “व्यक्तिको घर जलाउन जेनजी गएका होइनन्, सार्वजनिक भौतिक संरचना जलाउन र तोडफोड गर्न जेनजी गएको होइन । जेनजीको आवरणमा आपराधिक गिरोहले सबै गलत काम गरेको हो । त्यसको उचित छानविन हुनुपर्छ ।”
समय गतिशील भएकाले सबैले हेक्का राख्नुपर्ने भन्दै अध्यक्ष ओलीले आज गल्ती गर्नेहरु भोलि कठघरामा आउनुपर्छ भन्ने ख्याल गर्नुपर्छ उनले सुझाव दिए । देश र जनताको पक्षमा काम गर्नेको जहिले सही मूल्याङ्कन हुने तर गलत काम गर्नेको ढिलोचाँडो पहिचान हुने उनको भनाइ थियो । जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासलमा पुगेका ओलीले सरकारको तर्फबाट जेनजीमाथि गोली चलाउने निर्देशन नदिइएको पुनः दावी गरेका थिए । घटनाको निष्पक्ष छानविन गर्न उनले जोड दिए । अध्यक्ष अोलीले पार्टी मुख्यालयको आगलागीबाट क्षति भएको संरचनाको अवलोकन पनि गरेका थिए ।
