पाक र अफगानबिच ४८ घन्टे अस्थायी युद्ध विराम

काठमाडौं ।  एक सातादेखि जारी सीमा भिडन्त र झडपमा दर्जनौं सेना र सर्वसाधारणको मृत्यु भएपछि पाकिस्तान र अफगानिस्तानले बुधवार ४८ घण्टे अस्थायी युद्धविरामका लागि सहमति गरेका छन्। यो घोषणा हुनुअघि दुवै देशले एक-अर्काको राजधानीमा हमला गरेको गम्भीर घटना बाहिर आएको छ।

काबुलमा पाकिस्तानी हमलाको आशङ्का: बुधवार साँझ अफगानिस्तानको राजधानी काबुलमा भएका दुई विस्फोटपछि ठूलो धुवाँको मुस्लो देखिएको थियो। तालिबान प्रवक्ताले तेल ट्याङ्कर र जेनेरेटरमा विस्फोट भएको बताए पनि पाकिस्तानी सुरक्षा स्रोतले इस्लामाबादले काबुलमा ‘सटीक हमला’ गरेको दाबी गरेको छ। अफगान मिडियाका अनुसार पाकिस्तानी लडाकु विमानहरूले राजधानी काबुल र स्पिन बोल्दाकमा बमबारी गरेका छन्, जसमा दर्जनौं मानिसहरू मारिएको रिपोर्ट गरिएको छ।

यसको प्रतिक्रियामा अफगानिस्तानले पाकिस्तानको पेशावरमा ड्रोन आक्रमण गरेको छ। यो आक्रमणले गुप्तचर गतिविधिहरूको लागि प्रयोग भइरहेको दाबी गरिएको प्लाजाको एउटा कोठालाई लक्षित गरेको थियो।

इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानी तालिवान (टिटिपी) लाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। सीमा क्षेत्रमा तालिबान सरकारले प्रतिशोधको रूपमा आक्रमण सुरु गरेपछि दुवैतर्फ ठूलो क्षति भएको छ।

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक नजिकै भएको आक्रमणमा २० तालिबान लडाकू मारिएका छन्। पाकिस्तानको उत्तरपश्चिम सीमामा रातभर भएको झडपमा थप ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

अफगान तालिवानले स्पिन बोल्दाक नजिकैको झडपमा परी १५ सर्वसाधारणको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ। तालिबानका प्रवक्ताले १०० सर्वसाधारण घाइते भएको बताए पनि पाकिस्तानी सेनाले यसलाई ‘अपमानजनक र सरासर झुट’ भनेको छ।

दुवै देशले एक-अर्काको राजधानीमा हमलाको दाबी गरेपछि परिस्थिति थप सङ्कटपूर्ण बनेको छ। यद्यपि, इस्लामाबादले युद्धविरामको घोषणा गरेपछि काबुलमा तालिबान अधिकारीहरूले सेनालाई युद्धविरामको सम्मान गर्न आदेश दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर