ओलीको अडान : “राष्ट्रियताका लागि संघर्ष गरेकाले किन राजीनामा दिने ?”
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्दै आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन आफ्नै नेतृत्वमा सम्पन्न गर्ने अडान लिएका छन् ।
हिजो आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालय बैठकमा उनको राजीनामाको माग गर्ने आफ्नै पार्टीका नेतहरूलाई जवाफ फर्काउँँदै भनेका थिए, ‘मैले देशको अहित हुने के गरेँ र ? मैले भ्रष्टाचार गरेँ ? मसँग कसैको हिसाबकिताब बाँकी छैन, त्यसो हुँदा किन राजीनामा दिने ?’
उनले नेतृत्वको निर्धारण महाधिवेशनले नै गर्ने भन्दै महाधिवेशनसम्म अहिलेकै स्वरूपमा अघि बढ्ने स्पष्ट सन्देश दिए । यस्तै, उनले भदौ २३ र २४ को घटना राष्ट्र र राष्ट्रियताका लागि आफूले संघर्ष गरेको कारण गराइएको दोहोर्याए ।
सचिवालय बैठकका चार निर्णय
१) सरकारको असंवैधानिकता : वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको र संसद विघटन पनि असंवैधानिक तथा अप्रजातान्त्रिक कदम भएको ठहर गर्दै संसद पुनर्स्थापनामा जोड दिइएको छ ।
२) निर्वाचनको वातावरण : निर्वाचन सम्पन्न गर्न सरकारले विश्वासिलो वातावरण बनाउनुपर्ने, प्रहरीको मनोबल उठाउनुपर्ने, खोसिएका हतियार फिर्ता गराउनुपर्ने र नेताहरूमाथि साँधिएको प्रतिशोध बन्द गरी दलमाथि लगाइएको अघोषित थुनछेक रोक्नुपर्ने मुख्य शर्तहरू राखिएका छन् । यी शर्तहरू पूरा नगरेको अवस्थामा सरकारको चुनाव घोषणा देखाउने दाँत मात्रै हुने एमालेको ठहर छ ।
३) संविधान, लोकतन्त्र र राष्ट्रिय हित : संविधान, लोकतन्त्र र राष्ट्रिय हितको रक्षाका लागि संविधान पक्षधर सबै दल र नागरिक समाजलाई एकताबद्ध हुन आह्वान गरिएको छ ।
४) महाधिवेशन र नेतृत्व : आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने र त्यो महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सम्पन्न हुने निर्णय गरिएको छ ।
