गुण्डुबाट ओलीको स्पष्ट सन्देश : “सुशीलासँग डराउँदिन, ओमप्रकाश धेरै नचम्किनु”
भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने र गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उत्ताउलो नहुन चेतावनी दिएका छन् ।
भक्तपुरको गुण्डुमा आफ्नो पार्टीको भक्तपुर जिल्ला संगठनले आज बिहीबार आयोजित भेटघाट कार्यक्रममा ओलीले असंवैधानिक ढंगले विघटन गरिएको सरकार तत्काल फिर्ता गर्ने बाटोमा जानुपर्ने बताए । उनले नेपाली कांग्रेस र अरु पार्टीहरु पनि यही बाटोमा जानपर्ने बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नउभिए देश अराजकतामा जाने पनि बताए।
उनले फागुन २१ गते चुनाव नभए मात्रै संसद् पुर्नस्थापनामा जानुपर्ने बताएपनि त्यो दिन नपर्खी आन्दोलनको आँधी सिर्जना गरेर भएपनि अघि बढनुपर्ने बताए । उनले यसका निम्ति नेकपा एमालेले अगुवाइ गर्ने बताए । उनले भने, ‘नागरिकको जिउधन रक्षा गर्न जनता आफैँले आफ्नो तयारी आफैँ गर्नुपर्छ ।’
‘तमासा के गर्नुभयो भने म काठमाडौंको डाँडो काटेर पर्तिर जान नपाउने! ऊ त्यो डाँडोसम्म जान पाउँछ, त्यहाँबाट पल्लापटि हेर्न पाइने कि नपाइने थाहा छैन, पर्तिरपट्टि पानी ढल, काठमाडौं उपत्यका छाड्न नपाउने भनेको त्यही त होला, पानी ढलको सिमाना वाह! यो सडक तमासा नभए के हो?’, उनले भने।
‘मैले अस्ति पनि भनेँ, यो सरकार जसरी बन्यो, मैले संक्षिप्तमा मात्रै भनेको छु, यो सरकार हाहुबाट बनेको हो। यसको अलिक व्याख्या गरेको छैन, समयमा गरौंला, यो कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अन्त कतैको भए थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ’, उनले भने।
‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोच्या छ? तपाईंहरू कतिले यो गृहमन्त्रीको नाम सुन्नुभएको थियो? यो गृहमन्त्रीको? मैले त नाम पनि सुनेको थिइनँ। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै भन्नुपरेको छैन। गृहमन्त्री बाबुलाई धेरै नअत्तालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। राजनीति ख्याल ठट्टा होइन, देश चलाउने ख्याल ठट्टा होइन,’ उनले भने।
आोलीले कुनैपनि हालतमा संविधान र संसद् मासिन नदिने बताए । उनले देशको अस्तित्व जोगाउन र बरबादीमा जान नदिन युवाहरु अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘भ्रष्टचार विरुद्धको अभियान साझा अभियान हो ।अब त्यसमा लाग्नुपर्छ ।’
उनले आफ्नो सम्पत्ति एक पटक होइन १० पटक छानविन गर्न आग्रह गरे । ‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’ प्रश्न गर्दै ओलीले गजबको नाटक गरिएको बर्ताए । ओलीले आयोगमा पूर्वाग्राही मान्छेहरु छानविन आयोगमा राखिएको भन्दै त्यस्ता प्रतिनिधिले रहेको आयोगले तयार गरेको प्रतिवेदन एमालेलाई मान्य नहुने स्पष्ट पनि पारे ।
