तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । बस्नेतले केपी ओलीलाई पक्राउ गर्नका लागि वर्तमान सरकारलाई चुनौती दिएका हुन् ।
आज बुधबार एमाले पार्टी कार्यालयमा युवा संघद्वारा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’ जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो ।
त्यसको भोलिपल्ट बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।
अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो । यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं । हामी दूधले नुहाएको भनेका पनि छैनौं । यति त भन्न पाइयो नि त । महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर । होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?’
रविलाई नख्खु कारागारबाट भगाउनेमाथि छानबिन हुनुपर्छ
बस्नेतले जेन जेड आन्दोलनको नाममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन गर्नुपर्ने बताए । उनले लामिछानेलाई भगाउन संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले भने- ‘२४ गते रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराउन गएका डीपी अर्याल, मनीष झा र ज्वाला संग्रौलाबारे छानबिन होस्, जेलबाट भागेका १४ हजार कैदीबारे छानबिन होस्, भागेका कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा १२ हजार लुटिएका हतियार कहाँ छन् ?’
