ओली, लेखक, आरजु र महेश बस्नेतलाई पक्रन कार्की सरकारमाथि चर्को दवाब
काठमाडौं । जेनजी युवा आन्दोलनसँग जोडिएका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउको मागलाई लिएर सरकारमाथि दबाब बढेको छ ।
ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग बढिरहेकै बेला अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सुरक्षा अधिकारीहरूसँग गहिरो छलफल गरेकी छन् । सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्म, प्रधानमन्त्री कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग विस्तृत छलफल गरेकी छन् ।
आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकलाई पक्राउ गर्नुपर्ने जेनजी युवा समूहले सोमबार काठमाडौंको प्रहरी परिसरमा जाहेरी दर्ता गर्न प्रयास गरेको थियो । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न मानेन । प्रहरीले भदौ २२ र २३ गतेको घटनाको अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानविन आयोग गठन भइसकेकाले आयागकै क्षेत्राधिकार पर्ने भएको जेनजीलाई जवाफ फर्काइएको बताइएको छ ।
काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो
जेनजीहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।
काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर-भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ ।
जेनजी युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधवकुमार नेपाल, महेश बस्नेतलगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।
