सुरु भो ‘एरेस्ट केपी ओली’ अभियान

काठमाडौं । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दवाबमूलक अभियान चलाएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएकोले तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।
‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’
त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’