जेन–जी आन्दोलनको आधिकारिक समूह राष्ट्रपतिसँग वार्ता गर्ने

काठमाडौं। जेन–जी आन्दोलनका युवा प्रतिनिधिहरूले सरकारसँग वार्ता गरी आफ्ना माग सम्बोधन गराउने उद्देश्यले आइतबार आधिकारिक वार्ता टोली घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारी प्रतिनिधिहरूसँग वार्ता गरी आन्दोलनको माग सम्बोधन गराउने जानकारी दिएका हुन्।
वार्ता टोलीका सदस्य प्रवेश दाहालका अनुसार, वर्तमान परिस्थितिलाई ध्यानमा राखेर हाललाई १२ सदस्यीय टोली तय भएको छ। यस टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार, दीपकजंग अधिकारी र अभिषेक श्रेष्ठ रहेका छन्। दाहालले अब थप ३ जनालाई सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने जानकारी दिए।
दाहालका अनुसार यो टोली वर्तमान परिस्थितिलाई न्याय दिन र राष्ट्रपतिसँग वार्ता गरी सम्झौता गर्ने उद्देश्यले गठन गरिएको हो। उनले आन्दोलनको वास्तविकता बुझाउन र घाइते तथा सहिद परिवारलाई सम्झनुपर्ने भएकाले संवादलाई प्राथमिकता दिइएको बताए। “यहाँ कुनै पनि राजनीतिक दल, व्यक्ति विशेष वा हामी कोहीबाट परिचालित छैनौं। हामी जेन–जीहरू एक छौं, एकजुट हुनेछौं,” उनले स्पष्ट पारे। उनले सुदन गुरुङसँग पनि सल्लाह गरी उनको साथ लिएर संवादमार्फत अघि बढेको उल्लेख गरे।
पत्रकार सम्मेलनमा जेन–जी प्रतिनिधिहरूले आफूहरूमाथि कुनै खतरा नआओस् भनेर सुरक्षाका लागि सरकारसँग माग गरेका छन्। यसका साथै, उनीहरूले मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था लागू गर्नुपर्ने लगायतका आफ्ना मुख्य राजनीतिक मागहरू रहेको पनि बताएका छन्।