नयाँ पुस्ताको मनोभावना के छ ? त्यसलाई सम्बोधन गर्नुपर्छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केहीपनि गर्न नसक्ने भन्दै आलोचना गरेकी छन्। काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे शुक्रबार आयोजित अन्तरक्रियामा उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘दलका नेताहरूले बाहिर चाँही धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यस्तो तरिकाको सार्वजनिक आलोचना छ। त्यसैले सबैको कुरा सुन्नुपर्छ। सोही आधारमा पार्टीको मर्मअनुसार काम गर्न सकेको छ कि छैन् बुझ्न आवश्यक छ। नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्नसक्छ, त्यसमा ध्यान दिनुपर्छ। नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ।’
उनले भनिन्, ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नुपर्छ। शक्तिका स्रोत भनेका जनता हुन्। जनताहरुका बीचमा गएर राजनीतिक आफ्नो नीति, दर्शनअनुसार कार्यक्रम गर्नुभएको छ कि छैन् त्यो बुझ्नुपर्छ। जनताले के सुझाव दिन्छन् त्यस आधारमा अघि बढ्नुपर्छ। पार्टीहरुकाबीच पनि समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यक छ। पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएमात्र समस्यालाई समाधान दिन सक्छौं। शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्छ। राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो गरी अगाडि बढाउन आग्रह गर्छु।’