बाबुरामको राजीनामा, प्रचण्ड–माधव मिल्ने संकेत, जसपा नेपाल एक हुन अपिल 

काठमाडौं  । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन्। उनले पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पत्र दिएका हुन्।  हिजो बुधवार  काठमाडौंमा पार्टीको बैठक बसेको थियो। भट्टराइले राजीनामा दिएपछि बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

सोही बैठकले वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति समेत गठन गरेको छ। जेन-जी पुस्ताको आन्दोलनसँगै पुराना दलका नेतृत्वमाथि राजीनामाको दबाब बढेको छ। नेपाली काङ्ग्रेसभित्र समेत नेतृत्व परिवर्तनको बहस चर्किएको छ। माओवादी केन्द्र विशेष महाधिवेशनको तयारीमा छ। तर एमाले भने केपी ओलीकै नेतृत्वलाई निरन्तरता दिने तयारीमा छ। अन्य दलमा नेतृत्व परिवर्तनबारे बहस भए पनि एमालेमा भने यो बहस गम्भीर रूपमा प्रवेश पाएको छैन।

प्रचण्ड–माधव मिल्ने संकेत

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच केही दिनभित्रै पार्टी एकता गर्न छलफल चलिरहेको बताइएको छ । एकता गर्दा दुवै अध्यक्षको योगदानको कदर गर्दै सम्मानजनक पद सिर्जना गर्ने विषयमा पनि दुई दलका नेताहरूले छलफल सुरु गरेका छन् ।

जसपा नेपाल एक हुन संयुक्त अपिल 

जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट विभाजित भएका पाँच राजनीतिक दलका केन्द्रीय नेताहरूले पार्टी एकताका लागि नेतृत्वलाई संयुक्त अपिल गरेका छन्।

जनता समाजवादी पार्टी (उपेन्द्र यादव), लोकतान्त्रिक समाजवादी पार्टी (महन्थ ठाकुर), जनता समाजवादी पार्टी (अशोक राई), नागरिक उन्मुक्ति पार्टी, र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का युवा नेताहरूले जेन–जी आन्दोलनपछि विकसित घटनाक्रमलाई ध्यानमा राखेर यस्तो निष्कर्षमा पुगेको बताएका छन्।

उनीहरूले जारी गरेको अपिलमा भनिएको छ, “समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध गरी वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढ्नु उपयुक्त हुने हाम्रो ठहर छ।” उनीहरूले विगतका कमीकमजोरी सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्बन्धित दलको नेतृत्वसँग जोडदार माग पनि गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर