प्यालेस्टाइनीहरूको राष्ट्रिय मान्यता ‘पुरस्कार नभई अधिकार’ : गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिएकोप्रति प्रतिक्रिया दिँदै प्यालेस्टाइनीहरूको राष्ट्रिय मान्यतालाई ‘पुरस्कार नभई अधिकार’ भएको बताएका छन्।
उनले यस्तो मान्यता नदिनुले विश्वभरका अतिवादीहरूलाई ‘उपहार’ दिएसरह हुने चेतावनी दिए। गुटेरेसले इजरायल र प्यालेस्टाइनबीच स्थायी शान्तिको एकमात्र मार्ग ‘दुई-राष्ट्रिय समाधान’नै भएको कुरामा जोड दिए।
‘दुई-राष्ट्रिय समाधान नै इजरायल र प्यालेस्टाइनका जनताका लागि स्थायी शान्ति, मध्यपूर्वमा बृहत् शान्ति र सुरक्षाको एकमात्र विश्वसनीय मार्ग हो’, उनले भने। यद्यपि, प्यालेस्टाइनलाई मान्यता दिने यो कदमको इजरायलले कडा विरोध गरेको छ।
अस्ति आइतबार बेलायत, क्यानडा र अष्ट्रेलियाले मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘आतंकवादका लागि ठूलो पुरस्कार’को संज्ञा दिएका थिए।
हमासलाई हतियार छोड्न आग्रह : प्यालेस्टाइनी राष्ट्रपति
प्यालेस्टाइनलाई धेरै देशहरूले एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएपछि प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले हमासलाई हतियार छोड्न आग्रह गरेका छन्। उनले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै यस्तो अपिल गरेका हुन्।
अब्बासले गाजामा शासन गर्न हमासको कुनै भूमिका नहुने स्पष्ट पार्दै उनीहरूलाई आफ्ना सबै हतियार ‘प्यालेस्टाइनी अथोरिटी’ लाई बुझाउन आग्रह गरे। आफ्नो सम्बोधनमा उनले स्थायी युद्धविराममा जोड दिए।
‘हामी हतियार बिनाको एउटा संगठित राष्ट्र चाहन्छौं’, उनले भने। प्यालेस्टाइनी राष्ट्रपतिले सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको निन्दा पनि गरे।
उनले इजरायली जनतालाई सम्बोधन गर्दै भने, ‘हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ, अब हिंसा र युद्ध हुनुहुँदैन।’ अमेरिकाले राष्ट्रपति अब्बास र अन्य प्यालेस्टाइनी अधिकारीहरूको भिसा रद्द गरिदिएका कारण उनले भिडियो लिङ्कमार्फत महासभालाई सम्बोधन गरेका थिए।
