व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरू पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् । आज शनिबार नेपाली कांग्रेस, काठमाडौं महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए ।
थापाले भने, “कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नुपर्छ ।”
महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गर्दै बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरुले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।”