युक्रेनमा रुसी भीषण बमबारी : २१ जनाको मृत्यु

काठमाडौं ।  रुसले युक्रेनको किभमा भारी बमबारी गरेको छ । युक्रेनमा पूर्ण रूपमा आक्रमण शुरू भएपछि रूसले किभमा दोस्रो ठूलो हवाई आक्रमण गरेको हो । जसमा चार बालबालिकासहित कम्तिमा २१ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । समाचारअनुसार बिहीबारको आक्रमणमा युरोपेली संघ र ब्रिटिश काउन्सिलका भवनहरू क्षतिग्रस्त भएका छन्, जसका कारण ईयू र बेलायत दुवैले आ-आफ्ना राजधानीमा रहेका शीर्ष रूसी कूटनीतिज्ञहरूलाई बोलाएका छन् ।

युक्रेनको वायु सेनाले क्रेमलिनले रातारात देशमा ६२९ हवाई आक्रमण प्रहार गरेको जनाएको छ । जसमा ५९८ ड्रोन र ३१ वटा मिसाइलहरू थिए । यो जुन महिनायताकै राजधानीमा भएको सबैभन्दा ठूलो हमला हो । मारिनेहरूमध्ये धेरैजसो किभको दक्षिणपूर्वी दार्नित्स्की जिल्लाको बायाँ किनारामा रहेको एउटा पाँचतले आवासीय भवनका थिए । एउटा क्षेप्यास्त्रले बिहान करिब ३ बजे सो फ्ल्याटहरूको ब्लकलाई ध्वस्त पारेको थियो ।

रुसको रक्षा मन्त्रालयले उच्च हतियारहरू प्रयोग गरेर युक्रेनमा आक्रमण गरेको जनाएको छ । युरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई कडा जवाफ दिने बताएका छन् । ‘मस्कोले वार्ताको टेबलको सट्टा ब्यालिस्टिक्स रोजेको छ,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने । उनले रूसमाथि नयाँ र कडा प्रतिबन्धहरूको आवश्यकतालाई पुनः दोर्‍याएका छन् । किभका मेयरले एक दिनको शोक घोषणा गरेका छन् भने युरोपेली संघबाट पनि रूसको निन्दा गरिएको छ ।

बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्तिको आशामाथि तुषारापात गरेको आरोप लगाएका छन् । ईयूकी विदेश नीति प्रमुख काजा कालासले यो हमलाले योजनाबद्धरूपमा तनाव बढाउने र शान्ति प्रयासहरूको खिल्ली उडाउने मनसाय देखाएको बताइन् । कालासले रूसले शान्ति प्रयासहरूलाई भद्दा मजाक बनाइरहेको बताएकी छन् ।

बेलायतको विदेश मन्त्रालयले कीभमा रातभर भएको ठूलो हमलापछि रूसका राजदूतलाई स्पष्टीकरणका लागि बोलाउने बताएको छ । बेलायतका विदेश मन्त्रीले यसको पुष्टि गरेका छन् । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले रूसको घृणित हमला आवासीय क्षेत्रमा भएकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको शान्तिलाई खतरामा पारेको बताए । जर्मन चान्सलर फ्रिड्रिक मेर्जले रूसले फेरि आफ्नो वास्तविक अनुहार देखाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर