उपसभामुख राना संसदलाई जानकारी नै नदिई अमेरिका भ्रमणमा

काठमाडौं । सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा जानुभएको बारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाउनुभयो । कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाउनुभयो । कांग्रेस प्रतिनिधिहरूले बुधबारको कार्यव्यवस्था तथा परामर्श समितिमा पनि भ्रमणका विषयमा सभामुखसँग जिज्ञासा राखेका थिए ।
कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राख्नुभएको उक्त जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताउनुभएको थियो । राना साउन ३० मा अमेरिका जानुभएको थियो ।
बैठकमा उपसभामुख इन्दिरा रानालाई पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले हस्ताक्षर सङ्कलन गरेको विषयमा प्रतिपक्ष दलहरूले भने आपत्ति जनाए । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा (एकीकृत समाजवादी) ले आपत्ति जनाएका हुन् ।