उपसभामुख पदको अवमूल्यन भयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा प्रमुख सचेतक परियारलले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए ।

उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो , त्यसले सम्मानित सदनलाई चोट पुर्‍याएको छ, लोकतन्त्रको विराशत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो ।’

मानव तस्करीको आरोप लगाउँदै सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि रास्वपासहितका विपक्षी दलले विरोध जनाएका छन् ।

प्रमुख सचेतक परियारलले सत्तारुढ दलले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गर्न लगाएको तर्फ संकेत गर्दै सांसदको विवेकलाई बन्दी नबनाउन आग्रह गरे । ‘सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो, सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यही बेला स्वार्थपूर्ति गर्ने मुद्दा नबनाउँ’, उनले भने ।

‘आज रास्वपालाई निषेध गर्न खोजिँदैछ, नयाँहरूलाई निषेध गर्न सकिँदैन, समाज विज्ञानले प्रमाणित गरेको कुरा हो, कुनै पनि नयाँहरूलाई समाजले निषेध गर्न सक्दैन, हो हामीलाई कमजोर बनाउन खोजिएला तर हामीलाई निषेध गर्न यो समाजले सक्दैन, यो नयाँ युगले सक्दैन भन्ने हाम्रो ठम्माइ हो,’, उनले भने ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले कांग्रेस–एमालेका सांसदहरूले खाली कागजमा सही गरेको भन्दै धिक्कार होस् भन्दै कटाक्ष गरिन् । उनले सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदलाई खाली पानामा हस्ताक्षर गराएको भन्दै धिक्कारेकी हुन्।

यस लगत्तै एमालेका सांसद सूर्य थापाले राप्रपा सांसद कार्की गालीगलौजमा उत्रिएको भन्दै उनको भनाइ रेकर्डबाट हटाउन माग गरे। यस क्रममा केही बेर राप्रपा र एमाले सांसदबिच भनाभन चलेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर