राजनीतिक दल खौल्दै मैदानमा आउने तयारीमा दुर्गा प्रसाइँ

काठमाडौं । गणतन्त्रको विकल्पमा राजसंस्था स्थापनार्थ अभियान चलाइरहेका एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको दावी गरेका छन् ।
तीनकुने घटनाका मुख्य आरोपी भनी सरकारले चलाएको मुद्दा र जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएका प्रसाइँ हाल उच्च अदालत पाटनको धरौटी आदेशले थुनाबाट बाहिरिएका छन् । थुनाबाट बाहिरिएपछि आज सोमबार पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन् ।’
उनले राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको दावी पनि गरे ।
‘मलाई सादा पोशाकका पुलिसका मान्छे आएर तपाईंलाई मार्ने योजना छ, निस्किनुस् भनेपछि म निस्किएँ’, उनले भने, ‘कर्फ्यू लाग्दा काठमाडौं छोडिसकेको थिएँ । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । म त्यो दिन नभागेको भए मारिन्थेँ । मलाई ‘इन्काउन्टर’ गर्न प्रहरीका चारवटा टीम परिचालित थिए ।’
उनले निकट भविष्यमा आफूले राजनीतिक दल खोल्ने जानकारी पनि दिए । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र मभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाइँले भने ।
‘मलगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु’, प्रसाइँले भने ।
‘म शासकहरुलाई भन्छु, तिमीले मार्दैनौँ भने म भाग्दिनँ । मेरो पालो आएको दिन तिमीहरू पनि भाग्न पाउँदैनौँ’, उनले नेताहरूलाई लक्षित गर्दै भने, ‘यो कुरा बुझ । मेरो समय आएपछि कसैले भाग्न पाउँदैनन् । अहिले मेरो समय आएको छैन । एक दिन नेपाली नागरिकको समय आउँछ, त्यसको नेतृत्व प्रसाईंले गर्छ ।’
उनले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको सुनियोजित हत्या गरिएको दाबी गरे । उनले मदनको हत्यामा संलग्न एकजना मरिसकेको बताउँदै अरू जीवित रहेको जिकिर गरे । ‘मदन भण्डारीलाई मार्ने मान्छे एक जना मरिसके, अरु जिउँदै छन् । कसको योजनामा भएको हो भन्ने समयले बताउँछ,’ प्रसाइँले अगाडि भने ।