ट्रम्प र जेलेन्स्की वाशिङटनमा युक्रेन युद्धको अन्त्य खोज्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले बताएका छन्। अमेरिकी विशेष दूतका अनुसार रुसले सम्भावित शान्ति सम्झौताको एक हिस्साको रूपमा अमेरिका र युरोपले युक्रेनलाई ‘बलियो’ सुरक्षा ग्यारेन्टी गर्न दिने सहमति जनाएको हो
स्टीभ विटकोफले सीएनएनसँगको कुराकानीमा बताएअनुसार अलास्कामा भएको शिखर सम्मेलनमा अमेरिका र युरोपले ‘प्रभावकारी रूपमा धारा ५ जस्तै सुरक्षा ग्यारेन्टी’ दिन सक्ने सहमति भएको थियो। यो नाटोको त्यो सिद्धान्तलाई जनाउँछ जसमा एक सदस्यमाथि भएको आक्रमण सबैमाथि भएको मानिन्छ। पुटिनले लामो समयदेखि युक्रेन नाटोमा सामेल हुने कुराको विरोध गर्दै आएका छन्, र विटकोफले यो व्यवस्था युक्रेनीहरूले स्वीकार गर्न सक्ने विकल्प हुन सक्ने बताए।
यसैगरी युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलिन्स्कीबीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै जेलिन्स्कीलाई साथ दिने समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रवार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ऐतिहासिक भेट गरेको थियो । भेटपछि उनले शान्ति सम्झौताको लागि मस्कोसँग आग्रह गरे । पुटिनसँगको छलफलमा डोनबास क्षेत्रमा सम्झौता गर्ने, लडाइँ रोक्ने र युक्रेनलाई ठोस सुरक्षा ग्यारेन्टी दिने विषयमा छलफल भए पनि ठोस निष्कर्ष भने आइसकेको छैन ।
युरोपेली नेताहरू जर्मन चान्सलर फ्रेड्रिख मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री किअर स्टार्मर, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपियन आयोग अध्यक्ष उर्सुला भोन डेर लेयेन र नाटो प्रमुख मार्क रुट्टेले आज हुने वाशिङ्टन वार्तामा सहभागिता जनाउँदै छन् । अमेरिकासँग युरोपेली देशहरुले युक्रेनको ठोस सुरक्षा ग्यारेन्टी हुनुपर्नेमा जोड दिँदै आएका छन् ।