विप्लवसँग एकता गर्ने माओवादीको निर्णय, पार्टी एकताबद्ध भएको प्रचण्डको जिकिर

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लवसँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘छिट्टै वार्ता समिति बनाएर अगाडि बढ्ने कुरा भएको छ ।’ सापकोटाले नेता जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएको जनाए । यद्यपि बैठकमै भने उनले हस्ताक्षर नगरेको सापकोटाको भनाइ छ ।

विगत चार दिनसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले जनार्दन शर्माको विषयमा धेरै खुला र स्पष्ट छलफल भएको बताए । ‘असाध्यै कमरेड्ली भावनाका साथ छलफल चल्यो । उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ’, सापकोटाले भने, ‘बैठकमा स्थायी कमिटी र अध्यक्षले भनेका कुरामा अलिकति महसुस गर्नुभएको छ । साउन ६ गते जुन अभिव्यक्ति दिनुभएको थियो, त्यसमा आत्मालोचना त गर्नुभएको छैन ।  तर छलफल गर्दै जाने कुरा भएको छ ।’

पार्टी एकताबद्ध भएको छ : प्रचण्ड

यसैबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताबद्ध भएको दावी गरे । स्थायी समितिको बैठकमा उनले भने, ‘पार्टी एकताबद्ध भएको छ । सामूहिक प्रतिबद्धता गरेका छौँ ।’

प्रचण्डले जनताको बीचमा जाने समेत घोषणा गरे । उनले माओवादीलाई एकताबद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए । प्रचण्डले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकताबद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामूहिक प्रतिबद्धता गरेका छौं । सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प गरेका छौं ।’ फेरि एकचोटी जनतामा गएर देशमा देखापरेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर