रास्वपा र राप्रपाको बैठक वहिष्कार गोयबल्स रणनीति : नेपाली कांग्रेस

काठमाडौं । रास्वपा र राप्रपाले विरोधस्वरूप प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने क्रमलाई आज सोमबार पनि जारी राखेका छन् । ती दुई दलका सांसदहरूले बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असीम साहलाई बोल्न समय दिएका थिए। सांसद साहले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको फाइल कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।

उनले घुस प्रकरणमा अडियो प्रकरणपछि राजीनामा दिएका राजकुमार गुप्तामाथि छानविन हुनुपर्ने माग गरे । उनले सरकारका मन्त्रीहरु विभिन्न प्रकरणमा जोडिएको भन्दै सिंहदरबारबाटै छानविन सुरु गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।

त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसाका विषयमा भएको कमीकमजोरीलाई उजागर गर्दा राप्रपा र रास्वपालाई व्यवस्था र संविधानविरोधी भनेर प्रधानमन्त्रीले भन्नु खेदजनक रहेको बताए। उनले भिजिट भिसा प्रकरणमा न्यायिक छानविन नभएसम्म विरोध कायमै रहने जनाए। त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए।

यसैबीच नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय गतिविधिप्रति आपत्ति जनाउँदै उनीहरूको शैलीलाई ‘गोयबल्स प्रचार’ को संज्ञा दिएको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखिको संसदीय अवरोध र बहिष्कारप्रति आक्रोश व्यक्त गरे। ‘कति दिनसम्म यो चल्ने हो? संसदमा उभिएर सधैँ गाली गर्ने?,’ उनले प्रश्न गरे, ‘भिजिट भिसाको नाममा मानव तस्करी भयो भन्ने? के भिजिट भिसामा विदेश जाने सबै मानव तस्कर हुन्? यहाँ कुन सांसद भिजिट भिसामा बाहिर गएको छैन?’

घिमिरेले झुटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदको दुरुपयोग गर्ने काम तत्काल बन्द हुनुपर्ने बताए। उनले रास्वपा र राप्रपाको गतिविधिले संसदको गरिमामाथि प्रहार गरेको आरोप लगाउँदै चेतावनीको शैलीमा भने, ‘अब यस्तै गालीगलौज जारी रहे हामी पनि प्रतिवादमा उत्रिन बाध्य हुनेछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर