झलनाथ खनाललाई पार्टीबाट बिदा लिन अध्यक्ष नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीतिविपरीत बोलेकाले पार्टीबाट बिदा लिन सुझाएका छन्।
विराटनगरमा आज शुक्रबार पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिएका हुन्।
उनले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको बताए। एक प्रश्नको जवाफमा नेता नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरूको व्यक्तिगत निर्णय अनुसार नै हुने बताए ।
अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए। उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भए पनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए।
उनले अहिले आफूहरू पार्टी संगठन सुदृढीकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए। अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चासँगै सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे।