बागमती प्रदेशका मुख्यमन्त्री लामामाथि संकट, आफ्नै चार मन्त्रीले दिए राजीनामा ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग आफ्नै दल नेपाली कांग्रेसका चारजना असन्तुष्ट मन्त्रीहरूले आज राजीनामा दिएका छन् । ह्वाट्स एपमार्फत राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मनिकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ छन् ।
उनीहरूले बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताबाट मुख्यमन्त्री लामालाई हटाउन अविश्वासको प्रस्तावसमेत हाल्ने योजना बनाएका छन् । २०७९ पुस १३ गते भएको निर्वाचनमा इन्द्र बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् ।
राजीनामा दिएका चारैजना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । केही दिनअघि सभापति देउवासँग भेटेपछि उनीहरू मुख्यमन्त्री लामाविरुद्ध झन् खुलस्त रूपमा आएका थिए । कांग्रेसका एक सांसदका अनुसार असन्तुष्ट मन्त्रीलगायत अन्य सांसदहरू पनि मुख्यमन्त्री लामाको स्थानमा इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको र बानियाँ बागमती प्रदेश सभापति पनि रहेका छन् । बागमती प्रदेशसभामा मा कांग्रेस र एमालेका गठवन्धन सरकार छ ।