भण्डारीको प्रवक्ता नबन्न पार्टीका नेताहरूलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न पार्टीका अरू नेताहरूलाई चेतावनी दिएका छन् । आजदेखि सुरु भएको पार्टीको नवौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न चेतावनी दिएका हुन् ।
‘उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्ष भने प्रचार गर्नु, भण्डारीले बालुवाटार जान मानेनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो । उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन’,ओलीले एक केन्द्रीय सदस्यले ओलीको चेतावनी उद्धृत गर्दै भने,‘ हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए अवश्य कारबाही हुनेछ । एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ ।’
बैठकमा ओलीले पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर अघि बढाउने गरी लाग्नुपर्ने बताउँदै पार्टीका बाहिर र भित्री तत्त्वलाई चलाएर विभाजित गर्ने तत्त्वहरू आए त्यसलाई जोगाएर अघि बढ्नुपर्ने बताए । साथै, उनले अहिले पार्टी रूपान्तरणको बेला भएको र सानातिना अन्तर्विरोधमा नफस्न पनि आग्रह गरे ।