एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्न माधव नेपालको आग्रह

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा एकीकृत समाजवादीबिचको एकता कार्यक्रममा उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे । उनले कम्युनिस्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताए । उनले बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महसुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताए । आफूहरू कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पारे ।

अध्यक्ष नेपालले भने, ‘भन्छन् निः कम्युनिस्टहरू गन्हाएपछि साह्रै खत्तम हुँदो रहेछ । त्यस्तो नहोस् । हामी चाहन्छौँ । सबै सुध्रिउन् । हामी चाहन्छौँ, सबै सही बाटोमा अघि बढौँ । विगतमा आफूबाट कमजोरी भएका छन् भने सच्याउन्, पुनरावलोकन गरुन् । कमी, कमजोरी स्वीकार गर्ने आँट गरुन् । हामीले कसैप्रति कुनै आग्रह पाल्नुपर्ने छैन । सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । अहिलेको बिन्दुमा उभिएर भन्दाखेरि नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहीँ भित्रको अवस्था देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने, आशा अपेक्षा छ भने मेरो भन्नु केही पनि छैन ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाए । पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भूमिका महत्त्वपूर्ण रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर