एमाले सचिवालय बैठक आज च्यासलमा बस्दै, विधान महाधिवेशन तयारीमा छलफल

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीसँग सम्बन्धित विविध विषयमा छलफल तथा निर्णय हुने छ।
बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन समितिका तर्फबाट तयार गरिएको प्रस्ताव खाका प्रस्तुत गर्ने छन्। पौडेल उक्त समितिका संयोजक हुन्।
त्यसैगरी, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यी प्रतिवेदनहरूमाथि पनि बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
सचिवालय बैठकले साउन २ गते बस्ने पोलिटब्युरो बैठक र साउन ५ गते तय गरिएको केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू समेत तय गर्नेछ। बैठकमा वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा पनि गरिने जनाइएको छ।