कांग्रेस इतर पक्षको निष्कर्ष : अनुशासन समितिको कारवाही पूर्वाग्रहपूर्ण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भिन्न मत राख्ने डा. शेखर कोइराला समूहले हालै संस्थापन पक्षले अनुशासन समितिको कारवाहीलाई पूर्वाग्रहपूर्ण भएको निष्कर्ष निकालेको छ ।
डा. शेखरको सचिवालयमा आज बिहान भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकाल्दै कारबाही विधानतः सही नरहेको धारणा बनाएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने कांग्रेसको विधानमा रहेको भएपनि करिब तीन वर्षपछि कारबाही गरिनु गलत नियत भएको बताए । उनले गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाएर अहिले कारबाही गर्नु उचित नरहेको तर्क गरे ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताए । सिंगो पार्टीको हित र विधानविपरीत गई कारबाही गरिएको भन्दै यसलाई स्वीकार्न नसकिने बताए । उनले १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले कारबाही भएको आरोप लगाए ।
कारबाहीमा परेका कांग्रेस खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले पार्टीको विधानभन्दा बाहिर गएर कारबाही गरिएको भन्दै आपत्ति जनाए ।
अनुशासन समिति सदस्य सञ्जय गौतमले अनुशासन समितिमा २१ सय भन्दा बढी मुद्दाहरु रहेको बताए । कतिपय केन्द्रीय सदस्यका, पदाधिकारीका मुद्दाहरु पनि रहेको बताए । अनुशासन समितिका बहुमत सदस्यहरुले पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको र यो राम्रो नभएको बताए । उनले निष्काशन गर्नेकुरा अन्तिम रहेको र त्यहाँ पुग्ने स्थिति नरहेको बताए ।
नेता गुरु घिमिरेले अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावलीविपरीत रहेको बताए । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित रहेर कारबाही गरिएको उनको आरोप छ । कारबाहीबारे अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेखेको उनले जानकारी गराए ।