कांग्रेस इतर पक्षमा सनसनी, डा. शेखर समूह छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले हिजो बुधबार २३ जना आफ्ना कार्यकर्तालाई कारवाही गरेपछि सभापति शेरबहादुर देउवाविरोधी खेमा आपसी छलफल गर्न जुटेका छन् । पार्टी अनुशासन समितिको कारवाही को प्रकति कसैलाई निलम्बन त अधिकांशलाई एक वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने खालको छ । जसले गर्दा कांग्रेसको संस्थापन इतर पक्षमा हलचलका साथै सनसनी मच्चिएको छ ।
मुख्यतः गत स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गएको गरेको भन्दै समितिले ती कार्यकर्ताहरुमाथि कारबाही गरेको हो ।
सभापति शेरबहादुर इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा अहिले बैठक जारी छ । उक्त बैठकमा डा. कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री समेत रहेका पर्यटनमन्त्री बद्री पाण्डे, बलबहादुर केसी, सञ्जय गौतमलगायतका नेताहरु सहभागी छन् ।
कारबाहीमा पर्ने अधिकांश संस्थापन इतरमा आस्था राख्ने नेता कार्यकर्ता रहेका छन् । अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल, गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित २३ जनाविरुद्ध कारबाही गरेको थियो ।