सफल नभए पनि सकारात्मक ऊर्जा लिएर फर्किए : फुटबलर साम्बा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कपमा छनोट हुन सफल नभए पनि सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न नसकेको बताइन्। छनोटको अन्तिम खेलमा ५०-५० को अवसर रहे पनि त्यसमा सफल हुन नसकेको र यसले भविष्यमा सधैँ पिरोल्ने उनले बताइन्।।
साम्बाले सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको र हरेक खेलमा ध्यान दिएर प्रशिक्षकको रणनीति अनुरूप खेलेको बताउँछन्।
साम्बाले तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको बताइन्। समग्रमा आफूभन्दा माथिल्लो स्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक उर्जा लिएर फर्किएको साम्बाले सुनाइन्। छनोटअन्तर्गत समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रकेरमा ४-२ ले पराजित हुँदा नेपाल एसियन कप पुग्न असफल भयो।
अन्तिम खेलमा नेपाल पहिलो हाफमा नै ३-१ गोलले पछि परेको थियो। तर, पहिलो हाफको थप समयमा उउज्वेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा टोलीका लागि केही सहज पनि भयो। दुई गोल फर्काउँदै नेपालले ३-३ को बराबरीमा ल्यायो। निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुरूप सिधै पेनाल्टीतर्फ धकेलिएको थियो।
कप्तान छनोटका विषयमा साम्बा भन्छिन्, ‘यो टोलीभित्रको आन्तरिक कुरा हो, तर पनि विवाद निस्किएको र यो हुनु सही होइन। आगामी दिनमा यस्तो विवाद नआओस्। प्लेइङ ११ होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान हुन्।’
