युक्रेन र इरान मामिलामा ट्रम्प र पुटिनबिच टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार लामो टेलिफोन वार्ता भएको छ । यद्यपि, उक्त वार्तामा युक्रेन द्वन्द्व र इरान मामिलाजस्ता प्रमुख मुद्दाहरूमा कुनै ठोस प्रगति भने हुन सकेन । राष्ट्रपति ट्रम्पले नै वार्तालापपछि यसबारे जानकारी दिएका छन् ।
आफ्ना रुसी समकक्षी पुटिनसँग लामो कुराकानी भएको र त्यस क्रममा युक्रेन र इरानका विषयमा विस्तृत छलफल भएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि, यी जटिल विषयमा कुनै सफलता हासिल नभएको उनले स्पष्ट पारे । उता, क्रेमलिनले पनि वार्ताको पुष्टि गरेको छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार करिब एक घण्टा चलेको फोन वार्तामा राष्ट्रपति पुटिनले युक्रेनसँगको द्वन्द्वमा मस्को आफ्नो लक्ष्य हासिल गर्न दृढ रहेको बताएका थिए ।
यद्यपि, उशाकोभले युक्रेनसँग तेस्रो चरणको वार्ताका लागि रुस तयार रहेको संकेत पनि दिए । तनावपूर्ण मुद्दाहरूमा सहमति जुट्न नसके पनि दुई नेताले रुस र संयुक्त राज्य अमेरिकाबीच आर्थिक सहकार्यका विषयमा भने सकारात्मक छलफल गरेका छन् । ऊर्जा र अन्तरिक्ष अन्वेषणजस्ता क्षेत्रमा संयुक्त परियोजनाहरू कार्यान्वयन गर्ने विषयमा दुवैले पारस्परिक चासो देखाएको क्रेमलिनले जनाएको छ ।