मलेसियाले दियो नेपाललाई ९१ रनको लक्ष्य

काठमाडौं ।  मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न नेपाली टोलीले ९१ रन बनाउनु पर्ने भएको छ । आयोजक मलेसियाले बिहीबार जारी सेमिफाइनल खेलमा नेपाललाई जितका लागि ९१ उक्त लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुनुअघि ९० रनमात्र बनाउन सक्यो । नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यानहरू प्रारम्भदेखि नै दबाबमा परेका थिए । मलेसियाका अघिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपाली टोलीका बलर अभय यादव एक्लैले चार विकेट हात पारे । उनले १० ओभरमा केवल १५ रन खर्चिए । शुभम खनालले पनि तीन विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल १२ रन खर्चिए । सचिन भट्ट र विपिन प्रसाद शर्माले पनि एक–एक विकेट हात पारे।

टोलीको कूल स्कोर ५० रन पुग्नुअघि नै मलेसियाले ६ विकेट गुमाइसकेको थियो । मलेसियाका लागि सातौँ नम्बरका ब्याट्सम्यान मुहम्मद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए । उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेबारीपूर्वक खेल्दै ७१ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान डियाज प्याट्रोले पनि १० रन जोडे । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । मलेसियाले अतिरिक्त रूपमा १३ रन पायो ।

अतिरिक्त रूपमा पाएभन्दा बढी रन मलेसियाका एक ब्याट्सम्यानले मात्र बनाउन सकेका थिए । नेपाली टोली समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । नेपालले चारवटै खेल जित्दै आठ अंक बटुलेको थियो । उक्त समूहबाट सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा भने इन्डोनेसियामाथि तीन सय ७० रनको कीर्तिमानी जित हासिल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर