नेपाली कांग्रेसको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि सुरु भएको बैठकमा हिजो मंगलबार उपसभापति र महामन्त्रीको प्रस्तावमाथि धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, रमेश लेखकलगायत तीन दर्जन बढी सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले अहिलेको सत्ता गठबन्धनको विकल्प खोज्न नहुने र समस्याहरु आए दुईवटा पार्टीका बीचमा सल्लाह गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । सरकार सञ्चालन गर्ने क्रममा गठबन्धन सरकारका दलहरुबीच कुनै समस्या नरहेको उनको दाबी थियो ।
बैठकमा प्रस्तुत विभिन्न प्रस्तावमाथि पार्टीका केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक आज असार १८ गते दिउँसो १२ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।