इजरायलद्वारा इरानका सैन्य स्थलहरूमा आक्रमण

काठमाडौं ।  इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ ।  मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिनदेखि लडाइँ जारी छ । सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो । इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।

सोमबार  दुई देशहरूबिच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहान्तमा तीनवटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पुर्‍याएको क्षतिको बदला लिने प्रतिबद्धता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताउनुभएको छ भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् ।

इरानका विदेशमन्त्री रुसमा

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको ४८ घण्टापछि सोमबार प्रमुख सहयोगी भ्लादिमिर पुटिनसँग ‘महत्वपूर्ण’ भेटवार्ता गर्ने भएका छन्।

मस्को तेहरानको एक महत्वपूर्ण समर्थक हो, तर इजरायलले जुन १३ मा आक्रमणको श्रृङ्खला सुरु गरेदेखि मस्कोले देखिने गरी कुनै सहयोग वा यसका लागि आश्वासन दिएको देखिँदैन तर इरानमा भएका आक्रमणप्रति असहमति र आलोचना जनाउँदै आएको छ। रुसले इजरायली र अमेरिकी आक्रमणको निन्दा गरे पनि उसले सैन्य सहयोगको प्रस्ताव गरेको छैन र केही महिनाअघि तेहरानसँग भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत आफ्नो दायित्वलाई बेवास्ता गरेको छ।

‘यो नयाँ खतरनाक परिस्थितिमा रूससँग हाम्रो परामर्श निश्चित रूपमा ठूलो महत्वको हुन सक्छ,’ मस्कोमा अवतरणपछि रुसी सरकारी मिडियाले अराघचीलाई उद्धृत गर्दै भनेको छ। इरानविरुद्ध संयुक्त राज्य अमेरिका र यहुदी शासनको सैन्य आक्रमणपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा अराघचीले रुसका राष्ट्रपति र अन्य वरिष्ठ अधिकारीहरूसँग परामर्श गर्ने इरानी सरकारी समाचार संस्था आइआरएनए (इरना) ले आइतबार जनाएको छ।

पुटिनले सुरुमा आफूलाई इरान र इजरायलबीचको सम्भावित मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका थिए तर शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिन नेताको भूमिकाको विरोध गरेपछि उनले ‘सुझावहरू दिइरहेको’ मात्र बताएका थिए।

सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक मञ्चमा पुटिनले भने, ‘हामी कुनै पनि रूपमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजिरहेका छैनौं।’ उनले भने, ‘यदि उनीहरू दुवै पक्षका लागि आकर्षक भए भने हामी खुसी मात्र हुनेछौं।’ रुसको विदेश मन्त्रालयले शनिबार अमेरिकी आक्रमणलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर