देश र पार्टीका लागि प्रचण्डको विकल्प छैन : सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन र माओवादी पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रममा सापकोटाले नेपाली कांग्रेस र एमालेबाट जनता अघाइसकेकाले अबको राजनीतिक मैदान माओवादीका लागि खाली भएको दाबी गरे । उनले प्रचण्डको नेतृत्व अपरिहार्य रहेको कुरा अब जनताले समेत बुझिसकेको जिकिर पनि गरे ।
सापकोटाले कांग्रेसलाई ‘प्रजातान्त्रिक सामन्तहरूको पार्टी’ को संज्ञा दिए भने एमालेको कामले आफ्नै कार्यकर्ता लज्जित बनेको आरोप लगाए ।
उनले भने, ‘अहिले जनताले कांग्रेस र एमालेलाई पनि नजर भरी-भरी हेरिरहेका छन् । कांग्रेस त हामीले जानेकै पार्टी हो, त्यो प्रजातान्त्रिक सामन्तहरूको पार्टीबाट मान्छेलाई धेरै आशा थिएन । तर हामी जहाँ-जहाँ पुग्यौँ, त्यहाँ एमालेका कार्यकर्ताहरूको शिर निहुरिएको छ, उनीहरू असाध्यै लज्जास्पद अवस्थामा छन्। एक प्रकारले हामीलाई मैदान खाली थियो । हाम्रो पार्टीबाट निर्वाचितले मात्र होइन, कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत बाटोमा स्वागत गर्ने र ज्ञापनपत्र दिने काम गरे । उनीहरूले भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ र त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्ने कुरा बुझेका छन् ।’