कांग्रेस सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्था भएमा अचूक अस्त्र हुनेछ : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र झाँगिएको गुटबन्दीलाई जरैदेखि अन्त्य गर्न सबै क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति निर्वाचित गर्ने प्रणाली लागू गर्नुपर्ने बताएका छन् । उनले यो प्रस्तावलाई गुटगत राजनीति समाप्त पार्ने ‘अचूक अस्त्र’ को संज्ञा दिँदै यसले पार्टीलाई नयाँ जीवन दिने दाबी गरे ।

कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ६ (क), काठमाडौंको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको प्रतिनिधिमूलक निर्वाचन प्रणालीले गुटबन्दीलाई संस्थागत गरेको र त्यसलाई तोड्न प्रत्यक्ष निर्वाचनबाहेक अर्को विकल्प नभएको तर्क प्रस्तुत गरे । उनले भाषणले मात्र गुटबन्दी अन्त्य नहुने यथार्थलाई स्वीकार्दै संरचनागत परिवर्तनमा जानुपर्नेमा जोड दिए ।

आफ्नो प्रस्तावको औचित्य प्रस्ट्याउँदै महामन्त्री थापाले भने, ‘सबै साथीहरू तयार हुनुहुन्छ भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचूक अस्त्र छ । अहिले नेपाली काँग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छौं, नवीकरण र नयाँ थपिँदा मानौं १२ लाख पुग्यो । यदि हामीले ती १२ लाख सदस्यलाई सीधै बुथमा लगेर काँग्रेसको सभापति छान्ने व्यवस्था गर्‍यौं भने के हुन्छ ? १२ लाख मान्छेबाट निर्वाचित सभापतिको अगाडि कसैले गुट बनाउने आँट गर्‍यो भने त्यो आफैँ ध्वस्त हुन्छ । सकियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर