नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित

काठमाडौं ।  नेपालीहरुलाई मंगलवार राति  क्रिकेट जगतबाट खुशीको खबर आएको छ । स्कटल्याण्डको डण्डीमा खेलिएको विश्वकप क्रिकेट लिग २ को पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । यो खेलमा नेपालका लागि डेब्यू गरेका नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले नेदरल्याण्ड्सलाई सहजै पराजित गरेको हो । दायाँ हाते तीब्र गतिका बलर नन्दनले स्टार स्पिनर सन्दीप लामिछानेसंगै समान तीन विकेट लिएपछि नेपालको जित सहज भएको थियो ।

२ सय ३७ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेदरल्याण्ड्सको टीम फोर्टहिलको मैदानमा ४९.२ ओभरमा २ सय २० रनमै अलआउट भएको हो । यो जितसंगै नेपालले स्कटल्याण्डको आफ्नो भ्रमणको सुखद अन्त्यसमेत गरेको छ ।

नेपालले लिग २ को यो शृंखलामा खेलेका ४ खेलमध्ये ३ खेलमा जित हासिल गर्दै यो भ्रमणलाई अविष्मरणीय बनाएको छ । हुन त यसअघि सन् २०२३ मा पनि नेपालले यूएई भ्रमणका क्रममा खेलका ४ खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । नेपाल लिग २ अन्तर्गत आफ्ना १६ खेलबाट १२ अंक जोड्दै टेबलको सातौं स्थानमा छ भने नेदरल्यान्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । आठ राष्ट्र सहभागी लिग २ का शीर्ष चार टोलीमा विश्वकप छनोटमा पुग्नेछन् ।

मंगलवारको खेलमा नन्दन यादवले चौथो ओभरमै म्याक्स ओ डडलाई ४ रनमा आउट गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर माइकल लेभिटलाई सन्दीप लामिछानेले आउट गरे, उनले २७ को योगदान दिए । नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ३६ रन बनाएको योगदान दिए भने कप्तान स्कट इडवार्डसले ३० रन बनाए । यी दुबै खेलाडी देब्रे हाते स्पिनर ललित राजवंशीको शिकार बने ।

आफ्नो पहिलो ओभरमै पहिलो विकेट लिन सफल भएका सन्दीप लामिछानेले ज्याक लियन क्याचेटलाई २ तथा तेजा निडामानुरुलाई १७ रनमा आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । २२ रन बनाएका नोह क्रोसलाई कुशल भूर्तेलले एलबीडब्लू आउट गरे । डेब्यू खेलाडी नन्दन यादवले एउटै ओभरमा रोइलोफ भान डेर मर्बी तथा केयल क्लेइनलाई पेभेलियन फर्काएपछि नेपाल जितनजिक पुगेको थियो । यो खेलमा मर्बीले २५ रन बनाए ।

खेलको अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जीतका लागि १८ रन चाहिएको थियो, यद्यपि करण केसीले पाउल भान मिकेरेनलाई आउट गर्दै नेपाललाई जिताए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिँदै तीन विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ३९ रन नै दिएर तीन विकेट लिए । ललित राजवंशीले १० ओभरमा २९ रन दिँदै २ विकेट लिए भने करण केसी र कुशल भूर्तेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । यद्यपि, आरिफ शेख खेलको क्रममा डेन्जर जोनमा दुई पटक दौडिएका कारण अन फिल्ड अम्पायरहरुले नेपाललाई १० पेनाल्टी रन लगाइएपछि नेदरल्यान्ड्सले ब्याटिङ थाल्दा गर्दा टोलीको खातामा सिधै १० रन थियो ।

यो खेलमा आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । उनले ८५ बलमा सात चौका तथा दुई छक्का प्रहार गरे । यो उनको एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्च स्कोर पनि हो । उनी प्लेयर अफ द म्याचसमेत बने । यो खेलमा नेपालका लागि कुशल भूर्तेलले १८ रन, भिम सार्कीले ३५ रन, दिपेन्द्र सिंह ऐरीले १६ रन, बासिर अहमदले ११ रन, करण केसीले ११ रन, नन्दन यादवले १० रन तथा सन्दीप लामिछाने तथा अनिल साहले समान २ रनको योगदान दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर