विद्या भण्डारी लक्षित ओलीको टिप्पणी : ‘फलाना आउने अरे भनी फिजाइएको भ्रममा विश्वास नगर्नू’

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर भइरहेका हल्लामाथि टिप्पणी गरेका छन्। ओलीले भ्रमपूर्ण हल्लाको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।

पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने भन्ने समाचारहरू बाहिरिरहेका बेला ओलीले ‘फलाना आउने अरे’ भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे। उनले पार्टीभित्र गुटबन्दी भइसकेको भन्दै गरिएका प्रचारको प्रतिकार गर्न पनि निर्देशन दिए।

ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै भएको छैन। उनले महाधिवेशन घोषणासमेत नभएको र महाधिवेशनमा के गर्ने भन्नेबारे सरसल्लाह नै नभएको जिकिर गरे। “बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर पार्न खोज्ने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरूलाई सोझै इन्कार गर्नुस्,” उनले भने, “यस्ता खालका कुरा नगर्न त्यस्ताहरूलाई जवाफ दिनुस्। स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ।”

ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहोर्‍याए ।

“हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ ”, अध्यक्ष ओलीले भने, “हामी अहिलेसँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौँ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर