ओली, प्रचण्ड र देउवा गणतन्त्रको पक्षमा पंक्तिबद्ध रहने

काठमाडौं । प्रमुख तीनदलको बैठकमा संसद्माको गतिरोधलगायतका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हिजो सोमबार साँझ बसेको प्रमुख दलका शीर्षनेताहरूको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएपनि विपक्षी माओवादीले आफ्नो अडान कायमै राखेको बैठकपछि नेताहरु बताएका छन् ।
गणतान्त्रिक व्यवस्थाको पक्षमा प्रमुख दल एक ठाउँमा उभिने तर गृहमन्त्रीमाथि उठेको प्रश्नमा आफ्नो धारणा कायमै रहेको माओवादी नेता हितराज पाण्डेले जानकारी दिए । बैठकमा संसदको अवरोध हटाउने विषयमा गम्भीर छलफल भएकाले मंगलबार संसदको बैठक चल्ने विश्वास एमालेका नेता अग्नि खरेलले व्यक्त गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत नेताहरुको सहभागिता थियो ।