डा. शेखरकोे गृहमन्त्री लेखकलाई राजीनामा दिन सल्लाह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएका छन्।
गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न कोइरालाले सुझाव दिएका हुन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
उनले भने, ‘गृह मन्त्रालय उहाँकै अन्डरमा छ। उहाँले नैतिकताको हिसाबमा ल म क्लिन छु, म अहिले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, गर्नुस् तपाइँहरू भने भइहाल्यो नि, सकियो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’
गलत भएको पुष्टि भए राजनीतिमा देखा नै नपर्ने : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आफू गृह मन्त्रालयमा आएदेखि गलत भएको पुष्टि भए राजनीतिमा देखा नै नपर्ने बताएको छ । धनुषामा आज पार्टी कार्यकर्ताहरूसँगको छलफल क्रममा गृहमन्त्री लेखकले आफूविरुद्ध उठेका विषयहरूमा आत्तिनुपर्ने कारण नरहेको दाबी गर्नुभयो । उहाँले ती विषयहरू कहाँबाट कसरी भए भन्ने विषयमा आफूले बुझिरहेका कारण चुप लागेर बसेको पनि बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुलिरहेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको छ ।
अख्तियारले छापा मार्ने सूचना पाएर बुधवार मन्त्री लेखकले विमानस्थलका अध्यागमन प्रमुख तीर्थ भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरेका थिए । भट्टराईलाई अख्तियारले बिहीवार पक्राउ गरेर हाजिरी जमानीमा छाडेको छ । त्यसयता गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका १५ जना कर्मचारीको सरुवा गरिसकेको छ ।