नापोलीलाई इटालियन सिरी ’ए’ फुटबलको उपाधि

काठमाडौं । साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो । स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो ।
यससँगै नापोलीले तीन वर्षमा दोस्रो पटक तथा समग्रमा चौथो इटालियन लिगको उपाधि जितेको हो । उपाधिका लागि प्रमुख प्रतिद्वन्द्वी इन्टर मिलानले पनि कोमोलाई २–० ले हरायो । यसका बाबजुद इन्टर एक अंकले पछि परेको छ । नापोलीले उपाधि जितेपछि नेपाली समयअनुसार शनिबार बिहान डिएगो आर्मान्डो म्याराडोना रंगशाला धुवाँ र आतिशबाजीले उज्यालिएको थियो । नेपल्स शहरभरि विजयको खुसियाली छाएको छ ।
प्रतिक्रिया