जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी छैन : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिजाएको उल्ल्लेख गर्दै उनले भने, “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।”

“प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्न अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु”, अध्यक्ष ओलीले भने, “एमालेमाथि आन्तरिक र वाह्य पक्षहरु तथा विरोधीहरुको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।”

अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुटा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर