अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘गोल्डेन डोम’ विकास गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका लागि महत्वाकांक्षी ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गरेका छन्। तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस परियोजनाका लागि ट्रम्पले २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गरेका छन्, जबकि यसको कुल लागत १७५ अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
मङ्गलबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भने, “चुनावी अभियानमा मैले अमेरिकी जनतालाई अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा कवच बनाउने वाचा गरेको थिएँ। आज म यो घोषणा गर्न पाउँदा खुसी छु। हामीले यस अत्याधुनिक प्रणालीको लागि आधिकारिक रूपमा ढाँचा चयन गरेका छौं।” उनले ‘गोल्डेन डोम’ प्रणाली एकपटक पूर्ण रूपमा निर्माण भएपछि विश्वका अन्य देश वा अन्तरिक्षबाट प्रक्षेपण गरिएका जुनसुकै क्षेप्यास्त्रलाई रोक्न सक्षम हुने दाबी गरे। ट्रम्पले यसलाई “हाम्रो देशको सफलता र अस्तित्वको लागि पनि धेरै महत्त्वपूर्ण” भनेका छन्।
ट्रम्पले अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनले यस प्रयासको नेतृत्व गर्ने र क्यानडाले पनि सुरक्षा प्राप्त गर्न चाहेकाले यसमा सहभागी हुन चासो व्यक्त गरेको बताए। यद्यपि, संसद्को बजेट अफिसले अन्तरिक्षमा आधारित इन्टरसेप्टरको सीमित संख्यालाई परास्त गर्न २० वर्षमा १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म खर्च हुने अनुमान गरेको छ।
पेन्टागनका प्रमुख पीट हेगसेथले ट्रम्पको योजनालाई समर्थन गर्दै भने, “यो प्रणालीको उद्देश्य परम्परागत वा आणविक क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक मिसाइल, ड्रोनबाट आफ्नो मातृभूमिको रक्षा गर्नु हो।” ‘गोल्डेन डोम’ को विस्तृत लक्ष्य अन्तरिक्ष, समुद्र र जमिनमा रहने गरी ‘सेन्सर’ र ‘इन्टरसेप्टर’ सहित अर्को पुस्ताका प्रविधिहरू तैनाथ गर्ने रहेको ट्रम्पले उल्लेख गरे।
चीन र रूसद्वारा विरोध
इजरायलको ‘आइरन डोम’ एयर डिफेन्स सिस्टमबाट प्रेरित यो ‘गोल्डेन डोम’ योजनाको चीन र रूसले भने विरोध गरेका छन्। बेइजिङले बुधबार ‘गोल्डेन डोम’ लाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिँदै संयुक्त राज्य अमेरिकाले हतियारको होडबाजीलाई बढावा दिएको आरोप लगाएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थलाई पहिलो स्थान दिएको छ र आफ्नो पूर्ण सुरक्षा खोज्ने तर्फ उन्मुख छ, जुन कुनै पनि देशको सुरक्षा अरूको मूल्यमा हुनुहुँदैन भन्ने सिद्धान्तको उल्लङ्घन गर्दछ।” माओले यो योजनाले अन्तरिक्षलाई युद्धभूमि बन्ने खतरा बढाउने, हतियारको होडबाजीलाई बढावा दिने र अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने बताएकी छन्।
सन् २०२२ को क्षेप्यास्त्र प्रतिरक्षा समीक्षाले चीन र रूसबाट बढ्दो खतरालाई औँल्याएको थियो। चीनले ब्यालिस्टिक र हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिको मामिलामा वासिङ्टनसँगको दूरी कम गरिरहेको छ भने मस्कोले अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्र प्रणालीलाई आधुनिकीकरण गर्दै उन्नत ‘प्रिसिजन स्ट्राइक’ क्षेप्यास्त्रको विकास गरिरहेको छ। वासिङ्टनले युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेको ड्रोनको खतरा बढ्ने सम्भावना रहेको र उत्तर कोरिया र इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्रका साथै गैरराज्य पक्षबाट रकेट र क्षेप्यास्त्रको खतराबारे पनि चेतावनी दिएको छ।