आइपिएलमा पञ्जाब सुपर किङ्सको आठौँ जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब सुपर किङ्सले आठौँ जित निकालेको छ । आठौँ जित दर्ता गर्नेक्रममा पञ्जाबले आइतबार राजस्थान रोयल्सलाई १० रनले हरायो ।
यो जितले पञ्जाबको प्लेअफ यात्रा लगभग पक्का भएको छ । राजस्थान भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो । आफ्नो १३औँ खेलमा पञ्जाबले दिएको लागि २ सय २० रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले उत्कृष्ट सुरुवात दिलाए पनि राजस्थान पराजित भयो ।
यशस्वीले २५ बलमा ९ चौका र एक छक्कासहित ५० रन बनाए । यस्तै, वैभवले १५ बलमा चार छक्का र चार चौकासहित ४० रन जोडे । ध्रुव जुरुलले ३१ बलमा चार छक्का र तीन चौकासहित ५३ रनको इनिङ खेले । यस्तै, कप्तान सञ्जु सामसनले २०, रियान परागले १३ र शिमरोन हेटमायरले ११ रन जोडे । पञ्जाबका लागि हप्रित ब्रारले तीन, अज्मतुल्लाह ओमारजाई र मार्को जेनसेनले दुई/दुई विकेट लिए ।
त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १९ रन बनायो । उसका लागि नेहल वधेरा र शशांक सिंहले अर्धशतकीय पारी खेले । नेहलले ३७ बलमा पाँच छक्का र पाँच चौकासहित ७० तथा शशांकले ३० बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५९ रनको पारी खेलेका हुन् ।
यस्तै, कप्तान श्रेयस अय्यरले ३०, प्रभसिमरन सिंह र अज्मतुल्लाह ओमारजाईले २१/२१ रन जोडे । राजस्थानका लागि तुषार देशपाण्डेले दुई तथा कप्तान रियान पराग, आकाश मधवाल र क्वेना माफाकाले एक/एक विकेट लिए ।
जारी आइपिएलमा पञ्जाबले राम्रो प्रदर्शन गरिरहेको छ । उसले १२ खेल खेल्दा आठमा जित, तीनमा हार तथा एक खेलमा अंक बाँडेको छ । पञ्जाब अहिले १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । प्लेअफ दौडबाट बाहिरिसकेको राजस्थान तालिकाको नवौँ स्थानमा छ । उसले १३ म्याच खेल्दा १० मा हार तथा तीन खेलमा मात्र जित निकालेको छ ।