द्वन्द्वलाई उक्साउने र बढाउने पाकिस्तानको प्रयास : भारत

काठमाडौं । भारतले पाकिस्तानसँग जारी युद्धबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले पाकिस्तानले द्वन्द्वलाई उक्साउने र बढाउने प्रयास गरिरहेको आरोप लगाए ।
भारतले पाकिस्तानको कारबाहीको जवाफ दिइरहेको बताउँदै सचिव मिश्रीले पाकिस्तानले भ्रम फैलाउन गलत सूचना दिइरहेको आरोप समेत लगाएका छन् । पाकिस्तानले भारतको वायु रक्षा प्रणाली एस-४०० ध्वस्त गरेको भन्ने झुटो सूचना फैलाएको बताउँदै यस्ता गलत सूचनाको विश्वास नगर्न मिश्रीले अनुरोध गरेका छन् ।
भारत र पाकिस्तानबीच जारी द्वन्द्व जारी रहेका बेला शुक्रबार राति जम्मू कश्मीर, पञ्जाब र राजस्थानदेखि गुजरातसम्मका २६ क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेको जानकारी दिइएको छ । पञ्जाबको फिरोजपुरमा ड्रोनका कारण लगभग २५ वटा विस्फोट भएको र यसमा एकै परिवारका तीन जना घाइते भएका छन् । भारतीय सैन्य बलले आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरेर धेरै आक्रमणहरूलाई विफल पारेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा लडाकु विमान, लामो दूरीको हतियार र ड्रोनले आक्रमण गरेको जानकारी दिइन् । पाकिस्तानले बिहान पञ्जाबको एअरबेस स्टेशनमा हाई स्पीड मिसाइल प्रयोग गरेर आक्रमण गर्ने प्रयास गरेको उनले बताइन् । पाकिस्तानले नागरिकलाई निशाना बनाएर आक्रमण गरेको आरोप बताउँदै पाकिस्तानले भारतका सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्ने प्रयास गरेपछि, भारतले पाकिस्तानको हतियार डिपो र सैन्य प्रतिष्ठानहरूमा प्रहार गरेर जवाफी कारबाही गरेको उनले बताइन् ।
पत्रकार सम्मेलनमा उनले भारतीय सशस्त्र बल पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै भारतीय सशस्त्र सेना द्वन्द्व बढाउन नचाहेको स्पष्ट गर्दै पाकिस्तानले पनि यस्तै चाहने विश्वास व्यक्त गरिन् ।
पाकिस्तानी गोलाबारीबाट भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु
पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँचजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । भारतको नेशनल हेराल्ड अखबारले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मानव बसोबास भएका विभिन्न शहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका बताएको छ । तीनजना घाइते भएको समाचारमा उल्लेख छ ।
भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका बताइएको छ । पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।