चेन्नई सुपर किंग्सको तेस्रो जित

काठमाडौं ।  चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा चेन्नईले बुधबार राति कोलकाता नाइट राइडर्सलाई २ विकेटले हरायो । उसले लगातार चौथो हारपछि जित निकालेको हो । आफ्नो १२औँ खेलमा कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि डेवाल्ड ब्रेभिसले आक्रामक अर्धशतकीय पारी खेले ।

उनले २५ बलमा चार छक्का र चार चौकासहित ५२ रनको पारी खेलेका हुन् । यस्तै, शिवम दुबेले ४५, उर्विल पटेलले ३१, रवीन्द्र जडेजाले १९ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १७ रन बनाए । कोलकाताका लागि वैभव अरोराले तीन, हर्षित राना र वरुण चक्रवर्तीले दुई/दुई तथा मोइन अलिले एक विकेट लिए ।  त्यसअघि इडेन गार्डेन्समा टस जितेर ब्याटिङ रोजेको घरेलु टिम कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

उसका लागि कप्तान अजिंक्य रहाणेले ३३ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । यस्तै, आन्द्रे रसेलले ३८, मनिष पाण्डेले अविजित ३६, सुनिल नारायणले २६ तथा रहमानुल्लाह गुर्बाजले ११ रन जोडे । चेन्नईका लागि नूर अहमदले चार ओभरमा ३१ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, रवीन्द्र जडेजा र अनसुल कम्बोजको नाममा एक/एक विकेट रह्यो ।

यो हारपछि कोलकाताको प्लेअफ यात्रा कठिन बनेको छ । उसले १२ म्याच खेल्दासम्म पाँचमा जित र ६ खेलमा हार बेहोरेको छ । कोलकाताले एक खेलमा अंक बाँडेको छ । ऊ अहिले ११ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । चेन्नई भने प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १२ खेल खेल्दा ९ मा हार तथा तीन खेलमा मात्र जित निकालेको छ । चेन्नई तालिकाको पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर