कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो सोमबार भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठससिहत संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गएको असार ३१ गते पहिलो निर्णयका रूपमा तीन सय दिनभत्र क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । यो अवधि यही वैशाख २४ गते अर्थात् भोलि सकिँदैछ । प्रधानमन्त्री ओलीले कुन लापरवाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र दुई महिनाभित्र अर्थात् आउँदो असारसम्म काम सम्पन्न गर्न निर्देशन पनि दिएका थिए ।