पाकिस्तानले गर्यो मिसाइल परीक्षण

काठमाडौं । कश्मीर क्षेत्रमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार ‘मिसाइल प्रक्षेपण’ गरेको जनाएको छ । भारतको कश्मीरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच तनाव बढाएको हाे ।
पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा ‘अब्दाली वेपन सिस्टम’ को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ । यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल) सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्दछ ।
“यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधीय पक्षको मूल्याङ्कन गर्न गरिएको हो,” पाकिस्तान सेनाले बताएको छ । तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन । उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणा पछिको समयमै भएको हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए ।