बार्सिलोना र इन्टर मिलानको खेल बराबरीमा

काठमाडौं ।  युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानको खेल रोमाञ्चक बराबरीमा टुंगिएको छ ।

ओलिम्पिक स्टेडियममा भएको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानबीच ३-३ को रोमाञ्चक बराबरीमा सकिएको हो । उत्कृष्ट गोल, व्यक्तिगत कौशल, नाटकीय पुनरागमन र विवादास्पद क्षणले भरिएको यो खेलले अब दोस्रो लेगलाई निर्णायक बनाएको छ, जुन अर्को मंगलबार इटालीको सान सिरो रंगशालामा हुनेछ।

खेल सुरु भएको मात्र ३० सेकेन्डमै मार्कस थुरामले इन्टर मिलानलाई अग्रता दिलाए। डुम्फ्रिजको पासलाई उनले चिप पासमा परिणत गर्दै इतिहासकै छिटो च्याम्पियन्स लिग सेमिफाइनल गोल गरेका हुन्। खेलको २१औँ मिनेटमा डुम्फ्रिजले फेरि गोल गर्दै इन्टरलाई दुई गोलको अग्रता दिलाए।

१६ वर्षीय लामिन यामालले बार्सिलोनाका लागि एक ऐतिहासिक गोल गर्दै खेलमा फर्काउने संकेत गरे। च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गर्ने इतिहासकै कान्छो खेलाडी बने। त्यसपछि राफिन्हाले सटीक हेड पास दिँदै फेरान टोरेसलाई सजिलो ट्याप-इन गोलको अवसर दिए र खेल बराबरीमा ल्याए। खेलको ६१औँ मिनेटमा डुम्फ्रिजले आफ्नो दोस्रो गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए। तर, दुई मिनेटमै बार्सिलोनाले छोटो कर्नरबाट राफिन्हाले गरेको प्रहार बारमा लागेर गोलरक्षक सोमरको पीठमा लाग्दै गोल रेखा काट्यो । आत्मघाती गोलले खेल फेरि बराबरीमा पुग्यो।

अन्तिम समयमा दुवै टोलीले गोलका प्रयासहरू गरे । यामालको प्रहार बारमा लाग्यो, राफिन्हाको प्रहार सोमरले उत्कृष्ट बचाउ गरे भने मिखितारियनको गोल अफसाइडको कारण रद्द गरियो। इन्टरले केही क्षणहरूमा दबाब खेप्दा पनि सोमरका सात बचाउ र सशक्त डिफेन्सको सहयोगमा बराबरी निकाल्न सफल भयो। अब खेलको निर्णायक दोस्रो लेग सान सिरोमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर