इङ्गलिस प्रिमियर लिग : लिभरपुलको अग्रता कायमै

काठमाडौं । इङ्गलिस प्रिमियर लिगका २३ औँ चरणका खेल सकिने क्रममा छन् । जसमा लिभरपुलको अग्रता कायमै रहेको छ भने आर्सनल पछ्याउँदैछ । यसैबीच गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले संघर्षपूर्ण जित हासिल गरेको छ । म्यानयुले फुल्हमलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।
खेलको ७८ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले निर्णायक गोल गरेका हुन् । लिगको सफलमध्येको एक म्यानयु पछिल्ला केही वर्षदेखि खस्किदै गएको छ । यो जितपछि म्यानयु २३ खेलबाट २९ अंकसहित १२ औँ स्थानमा रहेको छ । हारका बीच फुल्हम ३३ अंकसहित दशौँ स्थानमा छ ।
एक खेल कम खेलेको लिभरपुल ५३ अंकसहित शीर्ष स्थानमा रहँदा आर्सनल ४७ अंकसहित दोस्रो, नटिंघम फरेस्ट ४४ अंकसहित तेस्रो, म्यानचेस्टर सिटी ४१ अंकसहित चौथो तथा न्यूकासल युनाइटेड ४१ अंकसहित पाँचौँ स्थानमा छ । पूर्व विजेता चेल्सी ४० अंकसहित छैटौँ तथा बर्नमाउथ ४० अंकबाटै सातौँ स्थानमा छ । वुल्भ्स, इप्सिविच टाउन र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् ।