जसपा नेपाल फुट्यो, अशोक राई नयाँ जसपाको अध्यक्ष

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदसहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् ।

दल दर्ताको लागि निवेदन दर्ता भई प्रक्रिया अघिबढेको र नयाँ पार्टीको नाम जसपाबाट नेपाल हटाई जनता समाजवादी पार्टी मात्र राखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालमा विभाजन आएको छ। उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादव स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि अमेरिका भ्रमणमा छन् ।

निर्वाचन आयोगमा दल दर्तापछि मिडियालाई प्रतिक्रिया दिँदै नेता अशोककुमार राईले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण दल विभाजनको गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । महाधिवेशनमा अध्यक्षले एकलौटी गर्ने देखिएपछि दल विभाजनमा पुग्नु परेको र दल विभाजनले सरकारको स्थायित्व कुनै असर नगर्ने राईले दाबी गरे । दलका अर्का नेता राजेन्द्र श्रेष्ठले आफूहरु अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले भने,‘हिजोको घोषणापत्र, विधान, नीति तथा कार्यक्रम निरन्तरता दिन्छौं । बहुमत सांसद हामीसँग छन् । बहुसंख्यक प्रतिनिधिसभा सदस्यहरुसहित यो नयाँ दल दर्ता भएको छ । हामी त ऐतिहासिक रुपमा बनेको सरकारको निरन्तरताको पक्षमा छौं । राजनीतिक अस्थिरताको चर्चा तथा परिचर्चा भइरहेको बेलामा हामी स्थिरताको पक्षमा छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर